बोक्सीको आरोप लगाई गरिने महिला हिंसा बिरुद्धको ६० दिने अभियान

अन्धबिश्वास र कुरितीजन्य व्यवहारमा आधारित भई बोक्सीको आरोप  लगाई महिला माथि भैरहेको अपराधहरुले आज सम्पूर्ण सामाजिक न्यायमा बिश्वास राख्ने नेपालीहरुलाई चिन्तित बनाएको छ । बोक्सीको आरोप लगाई महिलालाई मानव मलमूत्र ख्वाउने, अंगभंग गर्ने, आँखा निकाल्ने, अपमान गर्ने, जिउँदै जलाउनुका साथै अन्य प्रकारले हिंसा गर्ने जस्ता हिंसात्मक व्यवहारहरुका कारण के नेपाललाई शान्तिभूमी भन्ने आधार अझै हामी सँग छ ? भन्ने गम्भिर प्रश्न उठेको छ । यस प्रकारका अपराधहरु घट्ने समाजलाई सभ्य समाज भन्न मिल्छ ? भन्ने जस्ता प्रश्न आज हरेक नेपालीले आफैलाई सोध्नुपर्ने भएको छ ।

बैशाख देखि फाल्गुण २०६८ सम्म ओरेक नेपालमा मात्रै ९२ वटा महिला माथि बोक्सीको आरोप लगाई गरिएका घटनाहरु दर्ता गरिएका छन् । यी घटना घटेका घटनाहरुको अत्यन्तै न्यून संख्या मात्रै हो भन्ने आधारहरु धेरै छन् । धेरै घटनाहरु समाजमा नै दबाइएका छन् । बाहिर आएका छैनन् । यो यथार्थता हो । यसरी बाहिर आएका घटनाहरुमा समेत पिडीतले न्याय पाउन सकेका छैनन् । देशमा बढ्दै गएको राजनीतिको अपराधिकरण र दण्डहिनताको संस्कृतीले अपराधिको संरक्षणका लागि राजनैतिक कार्यकर्ताहरुले विभिन्न ठाउँमा अगुवाई गरिरहेकाछन् । अपराध समाजमा घट्ने तर अपराधीले सजाय नपाउने स्थिति ले पिडीतहरु अपमान, लघुताभाष र पिडाबोधका साथ बाँच्नु पर्ने वा उक्त समाजवाट बिस्थापित हुने स्थिति छ । यस्तो स्थितिमा पिडीतलाई सहयोग गर्ने महिला मानव अधिकार रक्षकहरु समेत पिटिएका हुँदा हतोत्साहीत पारिएकाछन् गाउँ निकाला भएकाछन् ।

यो स्थिती कुनैपनि समाजिक न्यायमा बिश्वास गर्ने नेपालीलाई मान्य हुन सक्दैन । त्यसैले यस्ता अपराध तथा यस्तो अपराध फस्टाउने बातावरण दुबैका बिरुद्ध हरेक नेपाली संगठित भई आवाज उठाउनु अनिबार्य भएको छ । यहि यथार्थतालाई मनन गर्दै महिला अधिकार रक्षाका लागि क्रियाशिल संघ संस्था÷संजाल र व्यक्तिहरुद्धारा “बोक्सीको आरोप लगाई महिला माथि गरिने अपराध बिरुद्धको ६० दिने अभियान” को शुरुवात गरिएको छ । समुदाय तह देखि बोक्सीको आरोप लगाई महिला माथि हिंसा गर्नु अपराध हो भन्ने मा सबैलाई सचेत गराउनु तथा यस्ता अपराधहरु अन्त्य गर्न प्रभावकारी कानून तथा पिडीतका लागि सहयोगी संयन्त्रको व्यवस्था गर्न सरकारलाई दबाब दिने उद्देश्यले यो अभियान संचालन गर्न लागिएको हो । यो अभियान अन्तर्गत निम्न ४ वटा मागहरु छन्ः

  • बोक्सीको आरोप लगाई महिला माथि गरिने हिंसा सम्बोधन गर्ने प्रभावकारी कानूनको अबिलम्ब  व्यवस्था
  • बोक्सीको आरोप लागी अपराध खप्न बाध्य महिलाहरुका लागि तुरुन्तै न्याय प्राप्तगर्ने संयन्त्रको व्यवस्था
  • प्रभावितहरुको सामाजिक, आर्थिक, अधिकार सुनिश्चितता गर्ने प्रभावकारी व्यवस्था
  • सरकारी तहबाट बोक्सी अन्धबिश्वास हो, सामाजिक कुरीतीजन्य सोच को परिणाम हो भन्ने बुझाउने खालको प्रभावकारी संचार अभियान संचालन 

राष्ट्रिय रुपमा संचालित यो अभियानमा निम्न १२ वटा जिल्लाहरु सिराहा, सप्तरी,उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिन्धुली, चितवन(माणी), मकवानपुर, पाँचथर, ललितपुरमा  बिशेष कार्यक्रमहरु संचालन गरिनेछन् । यो अभियानलाई सबैको साझा अभियान बनाई महिला माथि गरिने यस्तो विभत्स अपराध बिरुद्ध एकजुट  हुन सबैमा अनुरोध गर्दछौं । 

बोक्सिको आरोप लगाई महिला माथि गरिने अपराध विरुद्धको अभियान

बैशाख देखि हाल सम्म (फाल्गुन) ९२ जना महिलाहरुलाई बोक्सीको आरोपमा हिंसा भएको ओरेक नेपालको तथ्याकंले देखाएको  छ । बाहिर नआएका घटनाहरुको संख्या त्यतिकै मात्रामा छ । बोक्सिको आरोप लगाई  भनाभन भएको घटनालाई समाजमा घटना नै नमान्ने स्थिति छ । त्यस्ता घटनाहरु मिलाउन  र ढाकछोप गर्न समाजमा नेतृत्व गरेका अगुवा व्यक्तिहरु र राजनैतिक दलका व्यक्तिहरु नै अग्रसर भएर लागिपरेका छन् भन्ने प्रमाणित गर्ने आधारहरु धेरै छन् । 

समग्रमा भन्नुपर्दा यसरी सामाजिक कुरितीहरु तथा अन्धविश्वासमा आधारित भई नेपाली महिलाहरुलाई बोक्सिको आरोप लगाई मल मुत्र खुवाउँदा, रापिलो धातुले डाम्दा, कालो मोसो दल्दा, बिभिन्न प्रकारले अपमान गर्दा, यातना दिँदा तथा जिउँदै जलाई  ज्यानै सम्म लिंदा पनि किन यहाँ परिवर्तनका लागि ठोस कदम चालिन्न ? यो प्रश्नको जवाफ खोज्नु आवश्यक भएको छ ।

बोक्सी भन्ने आरोप लगाई महिला माथि गरिने हिंसा, अन्धबिश्वास र समाजमा आधारित कुरितीहरुको परिणाम हो ।

Subcategories

Subcategories